Daily Feature News : Feb 2008
Daily Feature News »
झरनाले पैसा नफर्काउने
- Achyut Koirala & Rekha Ojha
- Photo by Achyut Koirala
अहिलेकी चर्चित नायिका झरना थापाले चलचित्र विषका लागि लिएको साइनिङ अमाउण्ट चलचित्र सुटिङ गर्न थालेको एक हप्ता बितिसक्दा पनि फिर्ता गरेकी छैनन् भन्ने आरोप निराधार रहेको नायिकाको भनाइ छ । आफूलाई झुक्याइएकाले त्यो रकम नफर्काउने उनले साइबरसंसारसँगको कुराकानीमा बताइन् ।
विष चलचित्रका लागि निर्देशक शंकर घिमिरेले झरनालाई मुख्य नायिकाको भूमिकाका लागि साइन गरेका थिए । चलचित्र विषमा समय दिन्छु भनेर एग्रीमेन्ट गरिसकेपछि उनले अग्रिम रुपमा दश हजार लिएकी थिइन तर पछि चलचित्रको कथा र कथाअनुसारको आफ्नो क्यारेक्टर मन नपरेको भन्दै चलचित्रमा अभिनय अस्वीकार गरेकी थिइन् ।
चलचित्र निर्देशक शंकर भन्छन्- "चलचित्रमा अभिनय नगर्ने भएपछि हामीले दिएको रकम त फिर्ता हुनु पर्यो नि ! पारिश्रमिक चाहिँ लिने, अभिनय चाहिँ गर्दिनँ भन्न मिल्छ ?"
यता नायिका थापा भन्छिन्- "शुरुमा मलाई यो चलचित्रमा मेरो भूमिका हिन्दी फिल्म गुप्तमा काजोलले खेलेजस्तै हुने निर्देशकले जनाएका थिए तर पछि बुझ्दै जाँदा त यो एउटा बेश्याको भूमिका पो रहेछ ! अनि यसरी झुक्याउने निर्देशकको पैसा म किन फिर्ता गरुँ ?"
तर निर्देशकले नायिकाको धोकाविरुद्ध कुनै पनि मुद्दा नहाल्ने स्पष्ट पारेका छन् । "मान्छे चिनिहालियो, अबदेखि संगत नगरे भइहाल्यो", निर्देशक घिमिरेले भने- "यति सानो कुरामा मुद्दा हालेर उनलाई किन चर्चित बनाउने ?"
यता नायिका पनि टसको मस थिइनन्, भनिन्- "बेश्याको भूमिका मैले अहिलेसम्म निभाएको थिइनँ, अहिले आएर किन निभाउनु ?"
पछिल्लो समयमा निकै व्यस्त रहेकी नायिका झरना थापाले यस चलचित्रका लागि समय दिन नसकेका कारण अनेक निहुँ झिकेको केही चलचित्रकर्मीहरुको आरोप छ । निर्देशक घिमिरे भन्छन्- "कलाकारले म यस्तो भूमिका गर्छुजस्तो गर्दिन भन्नु कहाँसम्म जायज हो ?"
यो झगडाले कस्तो रुप लिने हो, त्यो त हामीलाई थाहा छैन तर के भन्न सकिन्छ भने सानो चलचित्र उद्योगमा ठूलो झगडा सकेसम्म नगरे नै राम्रो !
Daily Feature News »
|